Thursday, August 3, 2017

आमा त बुढी हुनुभएछ ।।


दु:खका मार्मिक कथा
संघर्ष र ब्यथाका कथा
सुन्दै हुर्केको म ।

 मेरी आमा बुहारी भई भित्रेको कथा
हामी सन्तानलाई हुर्काऊंदाको पिडा
मेलापात, घाँस दाउरा देखि
 शहरको भिडभाडको वृत्तान्त !
ति कथाहरु सुन्दा
कतै मुटु काँप्थ्यो,
कहिँ रिसका ज्वाला उम्लिन्थे,
कतै गर्वले छाति फुल्थे ।

 म मेरी आमालाई हेर्थें,
 सबैभन्दा सुन्दर देख्थें,
 सबैभन्दा बलियो देख्थें,
  सबैभन्दा मायालु देख्थें ।

समयको एउटा लामो अन्तराल
सात समुद्रपारी
आमाको तस्विर हेरें;
 ति काला कपाल, सेता भएछन,
अनुहार चाहुरिएछ
"आँखा कम देख्छु"
"जीउ दुखिरहन्छ"
 आमाका बचन कानमा ठोक्किए...

आफ्नो सन्तानको लागि जिउँदा जिउंदै
हाम्रा खुशीमा आफ्ना दु:ख लुकाउँदा लुकाउँदै
न आमाले कहिल्यै भन्नुभयो
 न हामीले कहिल्यै नियालेर हेर्यौं;
 हाम्रो प्रेरणाको स्रोत,
मायाको धरोहर,
 एउटा जिउँदो इतिहास,
हाम्री आमा त बुढी हुनुभएछ ।।

२०७४/०४/१९

Tuesday, July 25, 2017

समय (Dear,तिमी-२ )


Dear,तिमी
म सन्चै भएको परिकल्पनाबाट संधै दिनहरुको शुरुवात गर्छु । दिनहरु त सन्चो, बिसन्चो जे भएपनि चल्छ नै त्यसैले धेरै घोत्लिन चाहान्न । सम्बोधनका आधारमा कुरा गर्ने हो भने पत्र फरक नलाग्ला तर संधै एउटै खाले सम्बोधनले एउटै खाले आवरणलाई जन्माउदैन भन्ने पनि बुझ्नुपर्छ । तर बुझाई नसक्दा वा बुझिसक्दा पनि बुझ्न बाँकी हुने हुँदा केहि अर्थ राख्दैन तब खोज्नु र नखोज्नु बिचको अन्तर रहंदैन ।

भन्छन समय आफ्नो बसमा हुँदैन रे ! समय निकै गतिशील छ र छिटो-छिटो हिंड्छ रे । म कता कता रनभुल्लमा पर्छु; समय छिटो कुदी मात्र रहन्छ त ? समयले ढिला हुन जानेको नै छैन ? समयलाई छिटो देख्नेहरुले समयको ढिलो पाटो नियाल्न नै बिर्से कि कसो ?
समय सोचे जस्तो छिटो हिंड्दैन । लामो अन्तरालबाट गुज्रिन समयले पनि समय लिन्छ । समय छिटो कुद्दो हो त, समय आफुले आफ्ना अभयवहरुलाई पनि आफु संगै छिटो लग्न सक्नुपर्थ्यो, होइन र ? समय मात्रको अर्थ पनि के छ र ? समय संग गाँसिएका त्यसका हाँगाबिँगाहरु पनि संगै बहेन्न भने समय आफैमा समय रहिरहन सक्दैन । क्रिया प्रतिक्रियाको समान तर बिपरित गुणको बेवास्ता गरी समय एक्लै कसरी कुददो हो ? आफूमात्र अगाडी बढेर ति यावत अभयवहरुलाई कुनै कालकोठरीमा जिउंदै राखेर समय कुद्न सक्ला र ? सक्दैन । नसक्नु पर्ने हो । समयले हाँगाबिँगा फैलाउंदै, ओईलाएकालाई झार्दै गए मात्र छिटो कुद्न सक्ला तर पुराना नझर्ने र नयाँ नबढ्ने हो भने समयले कुन आधारमा बाटो पहिल्याउला र ? अनि रातारात नयाँ पालुवा पनि त पलाउँदैन ! पलाउला र ? तसर्थ समयले सोचे जस्तो छिटो हिंड्न जानेको छैन । समय पनि बेला बेलामा अड्किन्छ आफनै अल्झनहरुमा तर देखाउने आवरण फरक पर्ला । पारिएला । झट्ट हेर्दा कुदेको देखिएकाहरु कति बिघ्न अल्झिएका होलान, कुनै बोझहरुमा ! त्यसलाई पहिल्याउन पनि हेर्न जान्नुपर्छ । नत्र संधै सुनेको, देखेको र भोगेकोले मात्र समयलाई परिभाषित गर्दैन; जब वास्तविक हेराईलाई अस्तित्वमा बुझ्न सकिन्न ।


एउटा यस्तै समयको चर्चा अचेल धेरै हुन थालेको छ शब्दहरुको कारखानामा । एउटा यस्तो समय

Saturday, July 22, 2017

नेपाल र कुटनीतिक तटस्थता ।।



फोटो~गुगल



कुटनीति बालहठको लहडमा लिईने कुनै कदम होइन या यो कसैको इच्छा, चाहना पूर्तिका लागी लीइने कुनै सामान्य निर्णय हो वा बनाइने कुनै प्रणाली हो । यो त अन्तराष्ट्रिय जगतमा सुमधुर र सन्तुलित सम्बन्ध स्थापना गर्दै, राष्ट्रिय सम्मान र स्थान मजबुत बनाउंदै, आफ्नो राष्ट्रिय स्वार्थ र हितको संरक्षण र पूर्ति गर्ने एक महत्वपूर्ण साधन हो । कुटनीतिको महत्व हिजो जति थियो आज अझै कयौं गुणा बढेको छ । बिभिन्न शक्ति केन्द्रको उदय, बिकास र बिस्तार भइरहेको आजको अवस्थामा सबैसंग अनुकुल वातावरण,  सम्बन्ध बनाईराख्न पनि कुटनीतिको उत्तिकै महत्व छ भन्ने कुरा सायदै कसैबाट लुकेको नै छ । आज विश्व धुर्विकरणको एउटा नयाँ दौडबाट गुज्रिरहेको छ आज बिभिन्न कोणबाट आधुनिक शित युद्दको आरम्भ भइसकेको छ र यो बिभिन्न धुर्व बीच अनेकन स्वस्थ-अस्वस्थ प्रतिस्पर्धाको शुरुवात भइसकेको छ  यस्तो अवस्थामा आफ्नो राष्ट्रिय हित र अन्तराष्ट्रिय मंचमा आफ्नो दरिलो र सम्मानजनक उपस्थितिको लागि पनि कुटनीतिको आवश्यकता अनिवार्य भएको छ । साथै यिनै रस्साकस्सी बीच विश्व पुन: भयावह युद्दको भुमरीमा फस्न गए त्यो युद्दको चरम अतिक्रमणबाट आफुलाई बचाउन पनि कुनै पनि राज्यले आज बढी बिश्वास गर्ने हतियार कुटनीति नै भएको छ ।


कुटनीति राजनीतिको आधार मात्र होइन, यो आजको विश्वमा बिकास-समृद्धिको एउटा अचुक कडी पनि हो । कसैबाट लुकेको छैन भूमण्डलीकरणको आजको दौरमा एक गाउँको रुपमा बिकसित हुँदै गएको बिश्वको आजको अवस्था । र यिनै अवस्था बीच बिकसित हुँदै गएको नयाँ-नयाँ बैज्ञानिक क्रान्ति साथै बढ्दै गएको ब्यापार,  अर्थतन्त्रको जालोमा आफ्नो समुपस्थितिको लागी पनि एकले अर्कोलाई बिश्वास र आकर्षित गर्ने आधार कुटनीति नै हो, जो व्यक्तिव्यक्ति बीच, देशदेश बीच, जनताजनताबीच हुँदै बिभिन्न रुपमा अघि बढिरहेको छ । यी सब कुराले कुटनीतिको बहुप्रयोग र महत्व झल्काउँछ अझ बिकासको यात्रामा पछाडी परेका, विश्वमा बढ्दै गएको हतियारको प्रतिस्पर्धाको होडबाजीमा प्रतिस्पर्धा गर्न नसक्ने, प्राकृतिक, राजनीतिक रुपमा अत्यन्त चुनौतीपूर्ण स्थानमा रहेका मुलुकहरुको हकमा कुटनीति विश्व रंगमंचमा आफ्नो स्थिति बतलाउने, आफ्नो सार्वभौमिक्ताको रक्षा गर्ने, बिकासका चौतर्फी बाटा खोल्ने एउटा भरपर्दो साधन हो ।

Thursday, July 20, 2017

न आउ झरी ...



बिन्ति न आउ झरी !
ति ठूला फाँटहरुमा
ममताको बर्षात गरेर
सपनाको संसारमा
एक्लै छोडी,
यथार्थको तिखो बाण नरोप,
बिन्ति झरी नबर्स ।


बर्षौ देखिन चिरिएका छाती,
सुख्खा गराहरु
र नाङ्गिएको सिङ्गो शरीर !
अभ्यस्त छन्
उजाडिएको संसार संग,
एक्लिएको परिवेश संग,
 गुमाएको स्वाभिमानसंग ...

Monday, March 13, 2017

खबरदार




खबरदार
म वस्तु होइन !
तिम्रो एकल निर्णयको चीतामा
इच्छा आंकाक्षाहरुको,
आफ्नो जीवनको
आहुति दिन
म बाध्य छैन !

आफुले पुरा गरेको कर्तब्यहरुको
दम्भ पालेर
म संग त्यसको ब्याज उठाउने
अधिकार तिमीलाई छैन !

म स्वतन्त्र छु
आफ्नो इच्छाको मालिक,
आफ्नो भविष्यको सिर्जना
मेरो स्वबिबेकले गर्दछ!
तिम्रो र तिमी जस्तै अरुको
बन्द कोठा भित्र गरिएको निर्णयले होइन !

Saturday, February 18, 2017

Dear,तिमी



 (कसैलाई वास्तविक लागेमा, संयोग मात्र हुनेछ ।।)
Dear,तिमी
       कहिलेकाहीं एक्कासि बाटो काट्न आउने केहि सुमधुर दृश्यहरु, कहिलेकाहीं दृश्यहरुमा ओहोरदोहोर गर्ने शब्दहरु र कतैकतै पोखिने मनका केहि ठट्यौलि, केहि गहिरो भावनाहरुका शब्द देख्दा, लाग्छ तिमी ठिकै छौ जिन्दगी जिउनेक्रममा ! न राम्रो न नराम्रो, ठिकै ! जिन्दगि यसरी चल्दै गर्दा नि रमाइलो नै हुन्छ होला, म त्यति ठम्याउन सक्ने अवस्थामा आज छैन । जे होस्, छरिने ति मुस्कानहरुलाई संगाल्न पाउँदा म पनि खुशी नभई रहन सक्ने अवस्था छैन, म खुशी नै छु, खुशी देख्न चाहेकाहरु खुशी हुँदा ! तर चिन्ता यति हो, खुशी देखिएका ओठ र आँखाहरु बीच उही संदेश संचार होस्, एकले अर्काको भन्दा भिन्न संदेश प्रवाह नगरुन !!

       धेरै भयो शब्दहरुले एकअर्काको चौघेरा नाघेर एक अर्काको आँगनमा नखेलेको । त्यसैले अचेल अर्थ र सन्दर्भहरु बुझ्न पनि निकै रस्साकस्सी गर्नुपर्ने अवस्था आउँछ, दिमाग धेरै सोच्छ , न सोच भन्दा भन्दै ! आज सोचें कसैले नपढ्ने एउटा चिठी लेखौं अनि आफैले पढौं हरेक शब्दहरु ! बस शब्दहरु थुनिनु भन्दा पोखिएकै राम्रो, होइन त ? प्रश्न नि कसलाई सोध्नु छ र ? जब उत्तर दिने म आफै छु ! खैर ! लेख्नु त छंदै छ, म लेख्दै छु ! आफुले पाएको, नेपालीमा भन्दा "लेखक" र अंग्रेजीमा भन्दा "राइटर"को उपाधि बचाइराख्न र त्यो भित्र गाँसिएको भावनाहरुलाई संगाल्न पनि म लेखिरहन्छु ! आशा गर्छु मेरा कलमहरु नथाकुन, म थाके पनि !!

कुनै बेला शब्दहरु ठोक्किए भने ख्याल गर्नु शब्द तिनै हुन्, भावना पनि तिनै हुन् , जो हिजो थिए र जो आज पनि बाँचीरहेछन । लेख्दै गर्दा आज केहि दिनहरु सम्झिन्छु, एउटा, एउटा दिन ! तिम्रो मानसपटलमा ति दिनहरु खेल्छ, खेल्दैन्न थाहा छैन ! तर आफै संग बोल्दैछु, अनि यसो लाग्छ तिमीलाई ति दिनहरु ख्याल नहोला, तिम्रो लागि संधै घट्ने घटना मध्ये केहि नौलो "ए! होर ! " भन्ने दिन नै होला , वा कुनै औपचारिक निरन्तरताको एउटा पट्यार लाग्दो दिन ! तर आशा गर्छु, त्यसो नहोस ! यो भन्दा बेसी म अरु केहि भन्ने र बिश्लेष्ण गर्ने पक्षमा छैन । बारम्बार प्रश्नहरु आफैलाई तेर्साउँछु अनि उत्तर खोज्ने प्रयास गर्छु, भेट्टाउँदिन ! किन, कसरी, के कारण ले ? म खोज्छु आज पनि तर दुखसाथ भन्नुपर्छ, म भेट्टाउँदिन ! 

Dear,तिमी

Sunday, January 15, 2017

मृगतृष्णाको जीवन





बोकेर आफ्नै सपनाको भारी
 बिरानो ठाउँ, मुगलान पारी
हिंड्दैछन पाइलाहरु,
तातो बालुवा संग सिङ्गौरी खेल्दै
 एकनासको घामसँग आँखा जुधाउँदै !

मृगतृष्णाहरुमा
घरका आँगन हाँस्दछन
बालखका भरिएका पेट हाँस्दछन
हाँस्दछन आङका कपडाहरु !
आमाको बुढो दाँत टलक्क टल्किन्छन
पियारिको साडी झलक्क झल्किन्छन
घरको छानो केहि माथि उक्लिन्छ
बुबाको छाति गर्वले फुल्दछ
ति दुई हाल गोरु खेतभरि हिंडेको
उ देख्दछ, बाला पहेंला झुलेको !
चिल्लो बाटो घर अगाडी पुगेको
नजिकै धारामा पानी बगेको
 रात, दिन जस्तै भएको !
ऊ देख्दछ आफ्नै पुष्ट शरीर
ढल्केको टोपी, नाचेको मन ।

अमिलो पसिनाको स्वादले, मुख रसायो
भोको पेट बेस्सरी करायो
सिलाएको कमिजको एक फेर, उध्रेछ फेरी
तर मुसुक्क मुस्काउँछ
चलाउँदै हातपाखुरा, सिध्याउँदै श्रमपसिना
एउटा अमुल्य समय जोत्दै छ निरन्तर
मृगतृष्णाहरुले धानेको जीवन !

तर भोलीको आशमा, मृगतृष्णाहरुसंग हास्नुछ आज
फगत! यथार्थ त अझै पनि रुवाउने नै छ ।।।

२०७३/०६/२७ बिहिबार







ShareThis

Follow by Email